एजेन्सी - जाम्बियाका राष्ट्रपति एड्गार लुङ्गुले स्वास्थ्य संस्थाहरुका विद्युत कटौती नगर्न शुक्रबार निर्देशन दिएका छन् । 

देशको उर्जा मन्त्रालयलाई उनले स्वास्थ्य संस्थासँगै पानी वितरणका लागि समेत विद्युत्को अभाव हुन नदिन निर्देशन दिएका हुन् ।

स्वास्थ्य सेवा र पानी अत्यावश्यक हुने भएकाले त्यस सेवाका लागि विद्युत कटौती नगर्न निर्देशन दिइएको उनको भनाई छ ।  विजुली र पानी विना हाम्रा स्वास्थ्यकर्मीले कसरी काम गर्न र सेवा दिन सक्छन् ? उनले प्रश्न गरे । 

संसदबाट राष्ट्रका नाममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति लुङ्गुले विजुली र पानी दुवै मानवीयताका लागि अत्यावश्यक भएकोमा जोड दिए ।उनले जाम्बियामा अहिले विद्युत अभाव भएको र विद्युतलाई राम्रोसँग सदुपयोग गर्नु पर्ने बताए ।  

जलवायु परिवर्तन विश्वको ठूलो समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले धेरै देशहरुलाई यो विकासको बाधक भएको टिप्पणी गरे ।

उनले भने, “मेरो सरकारले जलवायु परिवर्तनका विरुद्धमा लड्ने र दिगो विकासमा जोड दिने अठोट लिएको छ ।”उनले दिगो विकासको लक्ष्य प्राप्तीका लागि हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।