धनगढी - कैलालीमा ड्युटीमा खटिएका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बिहीबार दिउँसो भजनी नगरपालिका–३ स्थित ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा दुई जना प्रहरीमाथि कुटपिट भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूले इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए।

पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँद रहेका छन्।

कुटपिटबाट घाइते दुवै प्रहरीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार उनीहरूले अवैध सामान ओसार्न प्रयोग गरेको से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।