काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुईदिने भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन्।

विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति वासिङ्टन डीसी पुगेको हो।

भ्रमणका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सहयोग विस्तार, भोटेकोशी बाढीपछिको पुनर्निर्माण, एफएटीएफको ग्रे लिस्टबाट बाहिरिने प्रयास र आर्थिक सुधारका विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ।

वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन ९डीएफसी०का उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले अमेरिकी निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि छलफल गर्नेछन्।

भोटेकोशी बाढीको पुनर्निर्माणमा सहयोग खोज्दै

अर्थमन्त्री वाग्लेले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त सडक, विद्युत् तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्नेछन्।

यससँगै सडक तथा विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा विकास साझेदार र निजी क्षेत्रको लगानी बढाउने विषयमा पनि छलफल हुनेछ। यस्ता क्षेत्रमा लगानी विस्तारमार्फत रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने सरकारको लक्ष्य छ।

भ्रमणको मुख्य उद्देश्य नेपालका लागि थप विकास सहायता र लगानी जुटाउनु तथा आर्थिक अवसर विस्तार गर्नु रहेको अर्थ मन्त्रालयले जनाएको छ।