काठमाडौं - मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको कसरत तीव्र बन्दै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि प्रदेश सरकारबाट बाहिरिएको छ ।

नेकपाका चार मन्त्रीले शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभसमक्ष राजीनामा बुझाएका छन् ।

नेकपा संसदीय दलको भर्चुअल बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा रहेका छन् ।

यसअघि गत असोज ३० गते नेकपा ९एमाले० सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा नेकपाका मन्त्रीहरूले समेत राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री यादवले अब आठ दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था छ ।

राजीनामा दिएका निवर्तमान ऊर्जामन्त्री जवाहर कुशवाहाले सरकारलाई राजनीतिक निकास दिन र नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन आफूहरूले पद छाडेको बताए । सरकारको कामकारबाहीप्रति असन्तुष्टि भएर नभई पछिल्लो समय देखिएको अल्पमतको राजनीतिक जटिलता समाधानका लागि राजीनामा दिएको उनको भनाइ छ ।

नयाँ सत्ता समीकरणमा नेकपा कुन दलसँग सहकार्य गरेर अघि बढ्छ भन्नेबारे भने उनले तत्काल केही बताउन चाहेनन् ।

नेकपाका चार मन्त्रीले समेत राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया थप पेचिलो बनेको छ ।