काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ ।

यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना संक्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् रहनेछ ।

सरकारले चैत ११ देखि शुरू गरेको बन्दाबन्दी साउन ६ गते मध्यरातसम्म जारी गरेको थियो । १२० दिन लामो बन्दाबन्दी अन्त्य भएको घोषणा गरिए पनि अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट हुने आवागमनमा सरकारले लगाउँदै आएको रोकलाई साउन ३२ गतेसम्म विस्तार गरिएको छ । 

तोकिएको नाकाबाट नेपाल प्रवेश गर्ने र मालसामान ढुवानीको व्यवस्थालाई यथावत् राखिएको छ । मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दी मंगलवार मध्यरातदेखि अन्त्य भएको जानकारी दिए । सरकारका प्रवक्ता डा. खतिवडाले भने, ‘बन्दाबन्दीले मनोवैज्ञानिक त्रास पनि दियो । एक खालको बहानाबाजी जस्तो पनि भयो ।’

मन्त्री खतिवडाले सेवा र व्यवसाय सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने अन्यथा कानूनी कारबाही समेत हुने बताए । उनले अन्य देशको अनुभव र नेपालको संक्रमणको अवस्था मूल्यांकन गरी बन्दाबन्दी अन्त्य गरिएको बताए ।

उनले भने, ‘दैनिक रूपमा कोरोना संक्रमणको मूल्यांकन गर्नेछौं । कोरोना संक्रमितको संख्या घट्दै गएको छ । निको हुनेको संख्या बढ्दै गएको छ ।’

उनले साउन अन्त्यसम्म कोरोना सक्रमण जोखिम विश्लेषणका आधारमा विस्तारै शैक्षिक संस्थालगायत अन्य सेवा र व्यवसायसमेत खोल्दै जाने बताए । सरकारले ठूलो संख्याको जमघट, भेला, गतिविधिसहित शैक्षिक संस्थाबाहेक अन्य क्षेत्रलाई साउन १५ र भदौ १ पछि खुला गर्ने निर्णय गरेको छ । शैक्षिक संस्थाहरू, सभा, गोष्ठी, प्रदर्शनी, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, सैलुन, ब्युटी पार्लर तथा स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद, धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, संग्रहालय र चिडियाखानाबाहेक साउन १५ पछि होटल, रेस्टुरेन्ट (सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाबाहेक), ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय खुला गर्ने निर्णय गरिएको छ ।

सरकारका प्रवक्ता डा. खतिवडाले हिउँद यामको पर्यटनलाई ध्यानमा राखेर पर्यटन क्षेत्रका गतिविधि खुला गरिएको जानकारी दिए ।

भदौ १ देखि जोरबिजोर प्रणाली अन्त्यसँगै मध्यम दूरीका निजी तथा सार्वजनिक यातायात खुला गरिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान, अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न खुला गरिएको छ ।

उनले सेवा तथा व्यावसायिक कार्यहरू सञ्चालन गर्दा २ मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटकपटक साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने लगायतका जनस्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताए । कुनै पनि स्थानमा संक्रमण फैलिए नियन्त्रणका लागि जिल्ला र प्रदेशले विशेष व्यवस्था गर्नसक्ने समेत जनाइएको छ ।

कोरोना जोखिम न्यूनीकरणका लागि २ सिफ्टमा सञ्चालन हुँदै आएको निजी तथा सरकारी कार्यालय अब साविकअनुसार नै सञ्चालन गरिने भएको छ । प्रवक्ता डा. खतिवडाले भने, ‘२ चरणमा कार्यालय सञ्चालन गर्दा भीडभाड कम हुन्छ भनेर त्यो व्यवस्था गरिएको हो । को कति खेर आउने को नआउने भन्ने अलि अन्योलजस्तो पनि भयो । अब कार्यालय पनि १०–५ नै सञ्चालन हुन्छ ।’ 

गोरखापत्र दैनिकबाट