ग्यास अभावको हल्ला मात्रै हो, आपूर्ति पर्याप्त छ : आयल निगम
काठमाडौं - नेपाल आयल निगमले विगत केही दिनदेखि काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव भएको भनी आएका समाचार र जनगुनासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै बजारमा ग्यासको अभाव नरहेको र जाडोयामको माग धान्न पुग्ने गरी आयात भइरहेको जानकारी दिएका हुन् ।
कार्यकारी निर्देशक भट्टका अनुसार देशभरका उद्योगीहरूलाई मासिक ४९,५०० मेट्रिक टन ग्यासको कोटा ९एलोकेसन० उपलब्ध गराइएको छ, जसमध्ये इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नोभेम्बरमा ४७,२६४ मेट्रिक टन, डिसेम्बरमा ४८,५३१ मेट्रिक टन र जनवरीमा ४७,३०४ मेट्रिक टन ग्यास आयात गरी बिक्री वितरण भइसकेको छ।
निगमले आगामी फागुन २१ गते हुने निर्वाचन र हालको मागलाई मध्यनजर गर्दै फेब्रुअरी महिनाका लागि साविकको कोटामा २,००० मेट्रिक टन थप गरी भारतीय आयल कर्पोरेसनबाट आयात गर्न उद्योगीहरूलाई अनुमति दिइसकिएको पनि उनले जानकारी गराएका छन् ।
बजारमा केही सीमित उद्योगका ग्यास सिलिण्डरको मात्र अभाव देखिएको भन्दै निगमले ती उद्योगहरूलाई तत्काल आपूर्ति सहज बनाउन र बजार सामान्यीकरण गर्न निर्देशन दिइसकेको उनले बताए ।
साथै भट्टले बजारमा ग्यासको अभाव हुने डरले आवश्यकताभन्दा बढी सिलिण्डर खरिद नगर्न र घरमा अनावश्यक भण्डारण नगर्न सर्वसाधारणलाई अनुरोध पनि गरेका छन।

.gif)



फेसबुक पेज Like गर्नुहोस