काठमाडौं- नेकपा एमालेका सचिव डा.राजन भट्टराईले नेपालको समृद्धिका लागि अब राजनीतिकभन्दा आर्थिक एजेन्डालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दलका घोषणापत्रमा ‘आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै डा।भट्टराईले यस्तो बताएका हुन् । अर्थतन्त्र कमजोर रहेसम्म जति राम्रो राजनीतिक व्यवस्था र संविधान भए पनि त्यसको प्रभावकारितामाथि प्रश्न उठ्ने उनको भनाइ छ । उनले भने- 'शहरी क्षेत्रमा पूर्वाधारको एजेन्डा उठ्नै छाडेको छ, किनकि बाटोघाटो, खानेपानी, ढल व्यवस्थापनजस्ता काम धेरै हदसम्म सम्पन्न भइसकेका छन् ।'

राजनीतिक परिवर्तनका लागि लामो समय खर्च भइसकेकाले अब राजनीतिक होइन, आर्थिक एजेन्डा नै प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताए ।  समृद्धिका लागि स्पष्ट दृष्टिकोण, नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले यसतर्फ दृढता देखाउनुपर्ने बताए ।  यदि राजनीतिक दलहरूले आर्थिक एजेन्डा उठाएर कार्यान्वयन गर्न नसके राजनीतिक दलहरूको सान्दर्भिकता हराउँदै जाने चेतावनी पनि दिए ।