भाजपाको पक्ष लिएपछि फेसबूकको आलोचना
काठमाडौं - भारतको सर्वोच्च अदालत र त्यसका प्रधानन्यायाधीशलाई लक्षित गर्दै माइक्रोब्लगिङ साइट ट्वीटरमा प्रेषित गरिएको सामग्रीलाई लिएर सिर्जना भएको बबाल साम्य हुन नपाउँदै अर्को सामाजिक सञ्जाल फेसबूक पनि विवादमा तानिएको छ ।
सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) र विपक्षी भारतीय राष्ट्रिय कंग्रेसबीच सामाजिक सञ्जाल फेसबूकको भूमिकालाई लिएर विवाद खडा भएको हो । अघिल्लो साता मात्र भारतको सर्वोच्च अदालतले शुक्रबार वरिष्ठ अधिवक्ता तथा नागरिक अधिकारकर्मी प्रशान्त भूषणलाई ट्वीटरमार्फत अदालतको मानहानी गरेको र न्यायालयको कामकारबाहीमै अवरुद्ध गरेकोमा दोषी ठहर गरेको थियो । पत्रकार, लेखक तथा बुद्धिजीवीहरूले अदालतको उक्त फैसलाले न्यायालयको मात्र नभएर भारतीय लोकतन्त्रकै गरिमा घटाएको भन्दै चर्को विरोध गर्दै आएका छन् ।
फेसबूकसम्बन्धी पछिल्लो विवादको सुरुवात भने वाल स्ट्रिट जर्नलमा प्रकाशित एउटा लेखबाट भएको हो । उक्त लेखमा फेसबूकको घृणा (हेट स्पिच) सम्बन्धी नियम र भारतीय राजनीति बाझिएको भए पनि कम्पनीका प्रमुख कार्यकारीले त्यस्ता अभिव्यक्तिलाई निषेध गर्न नचाहेको उल्लेख थए । साथै लेखमा फेसबूकले सत्तारूढ भाजपा र त्यसका नेता तथा कार्यकर्ताका घृणाजन्य अभिव्यक्ति र आपत्तिजनक सामग्रीहरूलाई अरूभन्दा भिन्न तरिकाले हेरिरहेको समेत दाबी गरिएको थियो । त्यसैगरी उक्त लेखमा फेसका कार्यकारीलाई उद्धृत गर्दै यदि भाजपा कार्यकर्ताका सामग्रीहरूमा रोक लगाउने हो भने त्यसले कम्पनीको भारतमा रहेको व्यापारमा समेत प्रतिकूल असर पर्न जानेसमेत जिकिर गरिएको छ । यसरी फेसबूक समग्रमा भाजपाप्रति सकारात्मक रहेको उक्त लेखमा दाबी गरिएको छ ।
यही लेखलाई लिएर विपक्षी कंग्रेसले सत्तारूढ भाजपाविरुद्ध निसाना साधेको हो । कंग्रेसका नेता तथा पूर्वअध्यक्ष राहुल गान्धीले अमेरिका मिडियाले फेस र भाजपाका सम्बन्धमा वास्तविकता उजागर गरेको बताएका छन् । ‘भारतमा फेसबूक र ह्वाट्सएप भाजपा र आरएसएसको नियन्त्रणमा छ । तिनीहरू गलत सूचना र घृणा फैलाउँछन् र त्यसलाई जनमतलाई प्रभाव पार्न दुरुपयोग गर्दै आएका छन् । अन्ततः अमेरिकी मिडियाले फेसबूकको वास्तविकता बाहिर ल्याएको छ,’ गान्धीले ट्वीटमा भनेका छन् । कंग्रेसले घटनाबारे छानबिन गर्न संयुक्त संसदीय समिति गठनको मागसमेत गरेको छ ।
भाजपाले आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि फेसबूक, ट्वीटर र ह्याट्सएपलगायत इन्टरनेट सञ्जाललाई व्यापक रूपमा प्रयोग गर्दै आएको छ । र, ऊमाथि ती सञ्जालमार्फत आफ्ना विरोधीहरूप्रति घृणा फैलाएको र आक्रमण गरेको आरोप लाग्दै आएको छ । भाजपा समर्थित कट्टर हिन्दुवादीहरूबाट भएका कतिपय हिंसात्मक घटनाका पछाडि तिनै घृणाजन्य अभिव्यक्ति र सामग्रीलाई जिम्मेवार ठानिएको छ । यो पृष्ठभूमिमा फेसबूकले भाजपाप्रति झुकाव राख्ने गरेको खुलासा भएपछि प्रमुख राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप सुरु भएको हो । तर, विपक्षी कंग्रेसको पछिल्लो आरोपलाई सत्तारूढ भाजपाले भने ठाडै नकारेको छ । केन्द्रीय मन्त्री तथा भाजपाका वरिष्ठ नेता रविशंकर प्रसादले ट्वीटमार्फत नै गान्धीलाई जवाफ दिएका छन् ।
‘आफ्ना कार्यकर्ताहरूलाई नै जोगाउन नसक्ने पराजितहरूले पूरै विश्व भाजपा र आरएसएसको नियन्त्रण छ भनिरहेका छन्,’ प्रसादले ट्वीटमा भनेका छन् । साथै उनले फेसबूका डाटालाई चुनावलाई प्रभावित गर्ने गरी क्याम्ब्रिज एनालिटिकासँगको साझेदारीको समेत स्मरण गराएका छन् ।
दुई वर्षअघि भाजपा र कंग्रेसबीच क्याम्ब्रिज एनालिटिकामार्फत फेसबूकको डाटा दुरुपयोग गरेको आरोपप्रत्यारोप चलेको थियो । सन् २०१६ को चुनावमा एनालिटिकाले लाखौं फेसबूक प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग गरेको खुलासा भएको थियो । त्यसपछि भारतमा पनि २०१९ को लोकसभा चुनावमा त्यस किसिमको दुरुपयोग हुन सक्ने भन्दै राजनीतिक विवाद नै खडा भएको थियो । क्रिस्टोफर ह्वीली नामका एक जना ‘ह्वीसल ब्लोअर’ ले भारतीय कम्पनी एससीएल समूहले एनालिटिकाको साझेदारीमा कंग्रेसका लागि काम गरेको खुलासा गरेका थिए । तर, त्यसलाई कंग्रेसले भने नकारेको थियो ।
दुई वर्षपछि पुनः एकपटक फेसबूकलाई लिएर विवाद सिर्जना भएको छ । यसैबीच, कंग्रेस नेता शशि थरुरले पछिल्लो विवादलाई लोकसभाको सूचना–प्रविधि समितिमा छलफल गराइने बताएका छन् ।
‘संसद्को सूचना–प्रविधि समितिमा पछिल्लो रिपोर्ट र हेट स्पिचका सम्बन्धमा भारतका लागि केकस्तो प्रस्ताव छ भन्ने विषयमा फेसबूकसँग छलफल गरिनेछ,’ थरुरले ट्वीटमा भनेका छन् । भारत विश्वमा सबैभन्दा बढी फेसबूक प्रयोगकर्ता भएको मुलुकमा पर्छ । भारतमा मात्र फेसबूकका २४ करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता भएको अनुमान छ ।
कान्तिपुर दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस