अनलाइन कक्षा बन्द गर्ने निर्णय ३ दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई ‘अल्टिमेटम’
काठमाडौं - संस्थागत विद्यालय शिक्षक युनियनले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय तीन दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई ‘अल्टिमेटम’ दिएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै युनियनले निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) बीचमा सहकार्य भइरहेको अवस्थामा यस्तो एकलौटी निर्णयले आफू स्तब्ध भएको बताएको हो ।
‘लकडाउनका कारण सिर्जित समस्यालाई लिएर शिक्षक महासंघ, अभिभावक संघ, प्याब्सन, एनप्याब्सन र यस युनियनका बीचमा गम्भीर छलफल र आपसी सहकार्य भइरहेको अवस्थामा जारी अनलाइन कक्षा बन्द गर्दै शिक्षक कर्मचारीलाई बेतलबी घर विदा दिने प्याब्सन र एनप्याब्सनको दादागिरी शैलीको एकलौटी निर्णयले हामी स्तब्ध भएका छौं’ जारी विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको बाहानाबाजी गरी एकातिर अघिल्लो शैक्षिक सत्रदेखिको तलब नदिने तथा अर्कोतर्फ यस विषम परिस्थितिमा शिक्षक कर्मचारीको रोजीरोटी खोस्ने कार्य गैरकानुनी, अमानवीय एवम् घोर भर्त्सनायोग्य छँदैछ, साथै यो कदम प्याब्सन एनप्याब्सनका लागि समेत आत्मघाती हुने हाम्रो निष्कर्ष छ ।’
युनियनले आगामी ३ दिन भित्रमा ठोस कदम नचाले कडा संघर्षको कार्यक्रम घोषणा गर्ने बताएको छ । प्याब्सन र एनप्याब्सनले सरकारले आफूहरुका माग पुरा नगरेको भन्दै साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेको थियो ।
विज्ञप्ति-
फेसबुक पेज Like गर्नुहोस