काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पक्राउ नभइ सुरक्षा जोखिमका कारण ‘रेस्क्यु’ गरेको दाबी गरेका छन् ।

मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले जबरालाई प्रहरीले सुरक्षित स्थानमा लैजानका लागि उद्धार गरेको बताएका हुन् । मन्त्री पोखरेलले भने, ‘उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो ।’ 

मन्त्री पोखरेलले सुरुमै थ्रेट आइसकेपछि सुरक्षित स्थानमा लगिएको दाबी गर्दै त्यो थ्रेट जेनजीबाट नभई अपरिचत समूहबाट आएको बताए

पोखरेलले थपे, ‘जेनजीबाट भनिएको छैन । मिडियामा आएको हो । अपरिचित समूहबाट टेक्स्टमार्फत नै थ्रेट आएको हो। प्रहरीले अनुसन्धान गरिरहेको छ ।’यसअघि जेनजीबाट सुरक्षा थ्रेट आएको बताइएको थियो ।

 जबरालाई असोज १० गते शनिबार राति करिब १२ः३० बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनको घर पुगेपछि करिब २ बजे उनलाई टेकुस्थित कार्यालय पुर्‍याइएको थियो। 

त्यसक्रममा प्रहरीले जबराविरुद्ध कुनै पक्राउ पुर्जी नभएको जनाएको थियो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पनि जबरालाई ‘सुरक्षा थ्रेट’ भएका कारण कार्यालयमा ल्याइएको दाबी गरेका थिए । प्रहरीका अनुसार तत्काल भौतिक आक्रमण हुनसक्ने सूचना पाएपछि उनलाई सुरक्षित राख्न कार्यालयमा ल्याइएको थियो ।

जबरालाई शनिबार रातिदेखि आइतबार दिउँसोसम्म प्रहरी कार्यालयमा राखिएको थियो । करिब १०–१२ घण्टापछि उनलाई परिवारको जिम्मा लगाएर छाडिएको थियो । त्यसपछि प्रहरीले उनको घरमै सुरक्षा बढाएको जनाएको थियो ।

त्यसपछि जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाउँदै थप सुरक्षा व्यवस्था मिलाउन माग गरेका थिए ।

घटनाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली टेकु पुगे पनि प्रहरीले जबरालाई भेट्न दिएको थिएन । आयोगको टोली करिब ३५ मिनेट गेटमै रोकिएर फर्किएको थियो । आयोगले यस विषयमा अनुसन्धान समेत अघि बढाएको छ ।

यता, जबरालाई नियन्त्रणमा लिएको घटनाको कारण र कानुनी आधारबारे अझै स्पष्ट विवरण सार्वजनिक भएको छैन । यही विषयलाई लिएर विभिन्न पक्षले प्रश्न उठाउँदै आएका छन् ।