काठमाडौं- बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण अधिकांश स्थानमा यातायात सेवा पूर्ण रूपमा ठप्प छ भने केही स्थानमा सडक एकतर्फी मात्र खुलाइएको छ।
काठमाडौँ उपत्यकाको ललितपुर स्थित गोदावरी नगरपालिका–४ को टिकाभैरव चारधारे सडकमा पहिरो जाँदा बाटो एकतर्फी मात्र सुचारु छ भने कान्तिलोकपथको ताकुर्चे खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। बागमती प्रदेशको रसुवा जिल्लामा बाढीका कारण मुख्य राजमार्गका सबै खण्डहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहेका छन्।
गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक आवगमन ठप्प भएको छ। मनाङको बेसीशहर–खाडसार सडक बाढीका कारण र म्याग्दीको बेनी–जोमसोम तथा बेनी–दरबाङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
मुस्ताङको जोमसोम–कोरला सडक, पर्वतको मालढुङ्गा–बेनी र मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर तथा लमजुङको मध्यपहाडी लोकमार्गमा पनि पहिरो गएकाले बाटो पूर्ण रूपमा बन्द छ। यस्तै बागलुङको कालिगण्डकी करिडोरमा भने पहिरो पन्छाएर बाटो एकतर्फी सञ्चालनमा ल्याइएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालिगण्डकी करिडोर पहिरोका कारण पूर्ण रूपमा बन्द छ भने पाल्पाको सिद्धार्थ राजमार्गमा पहिरो हटाई बाटो एकतर्फी सुचारु गराइएको छ। अहिले अवरुद्ध सडकहरू खुलाउने काम भइरहेको र नागरिकहरूलाई यात्रा गर्नुअघि स्थानीय प्रहरी वा सम्बन्धित निकायसँग सम्पर्क गरी बाटोको अवस्थाबारे जानकारी लिन अनुरोध गरिएको छ।
पृथ्वी राजमार्गमा आजदेखिसबै प्रकारका सवारीसाधन सञ्चालन हुने
यसैगरी, अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको सडकखण्डमा सवारी आवागमन सहज बन्दै गएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेको जनाएको छ। कार्यालयका अनुसार थप पहिरो तथा अवरोध नआएमा आज दिउँसोदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने छन्।



