काठमाडौं - सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकारसहित ६ निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यसैगरी सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले प्रशासनतर्फको सचिवमा सहसचिव आभा कर्णलाई बढुवा गरेको छ ।

यी हुन् आजका मन्त्रिपरिषद् बैठकका निर्णय

– अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।

– पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केबर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्महरु तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने।

– पशु स्वास्थ्य तथा मासु जाँच ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

– संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

– अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

– नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री आभास श्रेष्ठ कर्णेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने