कञ्चनपुर - महाकाली नदीमाथि रहेको दोधारा–चाँदनी झोलुङ्गे पुल बुधबार बिहान चुँडिएर नदीमा लत्रिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पुलको दोधारा चाँदनी नगरपालिका–४ तर्फको पिल्लर भत्किएपछि पुलको एक भाग चुँडिएको हो ।

बिहान पुलको दोधारा तर्फ करिब ५–६ मिटर भाग माथि उठेपछि आवतजावतमा समस्या भएको थियो। त्यसको केही समयपछि पिल्लरसमेत भत्किएर पुलको संरचना नदीतर्फ लत्रिएको प्रहरीले जनाएको छ।

पुल चुँडिएपछि त्यसबाट हुने आवतजावत पूर्णरूपमा ठप्प भएको छ। वर्षौँअघि निर्माण गरिएको उक्त झोलुङ्गे पुल जीर्ण बन्दै गएको थियो।

यसले दोधारा–चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्दै आएको थियो। पछिल्लो समय महाकालीमाथि पक्की पुल निर्माण भएपछि स्थानीयको आवतजावत झोलुङ्गे पुलको तुलनामा पक्की पुलतर्फ बढी हुँदै आएको थियो।