जनकपुरधाम -  पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आइपुगेका छन् । आइतबार साँझ जनकपुर आएका शाहले सोमबार जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा अर्चना गरेका छन् ।

जानकी मन्दिरमा दर्शनका क्रममा उनले चुनरीसमेत भेटी चढाए । त्यसपछि शाह पैदल यात्रा गर्दै राम मन्दिर र राजदेवी मन्दिर पुगेका थिए । मन्दिर दर्शनका क्रममा स्थानीय श्रद्धालुहरूको उल्लेख्य भीड लागेको थियो । जानकी मन्दिर आसपासको क्षेत्र शाहको स्वागतमा उत्साहित देखिएको थियो ।

शाह गंगा सागरमा हुने गंगा आरतिमा पनि सहभागी हुने कार्यतालिका रहेको छ । उनको भ्रमणलाई लक्षित गरी जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जिल्ला प्रशासन र सुरक्षा निकायले संवेदनशील स्थानमा थप सुरक्षाकर्मी परिचालन गरेका छन् ।