काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रसाईले केही समयअघि जेनजी सहिदकी आमासमेत रहेकी रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खड्कालाई लक्षित गर्दै ‘छोराको लासमा टेकेर सांसद बनेको’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त विषय रचना खड्काले संसद्मा समेत उठाएकी थिइन् ।
प्रसाईंले सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोपमा खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
सोही उजुरीका आधारमा साइबर ब्युरोको टोलीले अनुसन्धानका लागि सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको थियो । त्यसपछि प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि बिहीबार काठमाडौं जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक दिन अनुसन्धान गर्न अनुमति दिएको हो ।
यता पक्राउ प्रसाईंकी श्रीमती उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो, भोटाहिटी, काठमाडौं समेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन् ।
बुधबार उक्त बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ४८ घण्टाभित्रमा लिखित जवाफ बुझाउन भनेको छ ।




