काठमाडौं-सोमबार मध्यराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मंगलबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो ।

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई सोमबार राति नै पक्राउ गरेको हो ।

गत चैत १५ मा तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको राजावादी आन्दोलनमा पनि दई जनाको ज्यान गएको थियो ।

उनको गिरफ्तारीपछि समर्थक तथा नागरिक बचाउ दलका कार्यकर्ताले प्रदर्शन गर्ने सम्भावना रहेकाले उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।