एजेन्सी - उत्तर कोरियाले पुनः छोटो दूरीका दुई क्षेप्यास्त्र एकसाथ प्रहार गरेको छ । बितेका केही हप्तामा उत्तर कोरियाले प्रहार गरेको यो पाँचौं क्षेप्यास्त्र हो ।

दक्षिण कोरियाली सेनाका अनुसार यी दुवै छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र हुन् । यदि उक्त कुराको पुष्टि भएमा यी परीक्षणहरु संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को प्रस्ताव विरुद्ध हुनेछन् ।

यी परीक्षणको केही समय पहिलामात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमले आफूलाई एक सुन्दर पत्र लेखेको बताएका थिए । उनका अनुसार उत्तर कोरियाका शीर्ष नेता किम जोंग उन अमेरिका(दक्षिण कोरियाद्वारा भइरहेको संयुक्त सैन्य अभ्यासप्रति खुसी थिएनन् ।

यी दुवै मिसाइल दक्षिण ह्यामयोंग प्रान्तको पूर्वी शहर हमहुंगनजिकैबाट प्रहार भएका थिए र पूर्वी कोरियाली प्रायद्वीपको जापानी सागरमा खसेका छन् ।

यी दुवै मिसाइल स्थानीय समयअनुसा ५ बजेर ३४ मिनेट र ५ बजेर ५० मिनेट जाँदा परीक्षण गरिएको बीबीसीले जनाएको छ । यी दुवैले करिब ४ सय किलोमिटर दूरी तय गरेका थिए ।