काठमाडौं - भदौ १० गते चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो तीन सातामा विभिन्न होल्डिङ सेन्टरमा ८१ जनामा झाडापखाला देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाइको समस्या, व्यवस्थित शौचालयको अभाव र मानिसहरूको भिडका कारण संक्रमणको जोखिम बढेको हो ।

होल्डिङ सेन्टरहरूमा बसिरहेका व्यक्तिहरूमा झाडापखाला देखिए पनि महामारीकै रूप लिने गरी भने नफैलिएको उनले बताए । 

बाढीका कारण खानेपानीका मुहान तथा खाद्य पदार्थ दूषित हुने भएकाले पानीजन्य रोगको संक्रमण फैलिन सक्ने जनस्वास्थ्यविद् बताउँछन् । विशेषगरी झाडापखाला, हैजा, रुघाखोकी, टाइफाइड, डेंगु, लेप्टोस्पाइरोसिस, भाइरल हेपाटाइटिस तथा विभिन्न छालासम्बन्धी संक्रमणको जोखिम बढ्छ ।

बाढीपछि विभिन्न ठाउँमा पानी जम्ने भएकाले डेंगुको जोखिमसमेत बढ्ने विज्ञहरू बताउँछन् । लामखुट्टेले जमेको सफा पानीमा प्रजनन गर्ने भएकाले बाढी र डुबानपछि बनेका पानीका खाल्डाखुल्डी डेंगु फैलाउने लामखुट्टेका लागि अनुकूल बन्न सक्छन् ।

बाढीले बगाएर ल्याएको फोहोरका कारण पानीका स्रोत दूषित हुने जोखिम पनि उत्तिकै हुन्छ । दूषित पानी र खानेकुराका माध्यमबाट विभिन्न सरुवा रोगको संक्रमण फैलिन सक्छ ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले बाढी प्रभावित क्षेत्रमा झाडापखाला फैलिन नदिन पूर्वतयारी र सावधानी अपनाइएको बताए ।

होल्डिङ सेन्टरहरुमा स्वास्थ्यकर्मीहरुलाई खटाइएको र आवश्यक औषधि उपचारलगायत सामग्री पनि राखिएको बताउँदै उनले सरसफाइमा स्थानीय तह र सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । 

उनले झाडापखाला फैलिन थालेमा तत्कालै नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गर्नेसहितका तयारी गरिएको बताए । प्रभावित क्षेत्रलाई सम्भावित जोखिम क्षेत्रका रूपमा लिएर हैजाविरुद्धको खोपसमेत उपलब्ध गराइएको बताए ।

प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिन नदिन स्थानीय तह, स्वास्थ्य संस्था र सरकारी निकायबीच तत्काल समन्वय आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

सरुवा रोग फैलन सक्ने सम्भावित ठाउँहरूको अध्ययन गरी तत्काल रोकथामको काम गर्नुपर्ने विज्ञहरुको भनाइ छ । 

बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी, स्वास्थ्य शिविर, रोगको निगरानी र आवश्यकताअनुसार मनोसामाजिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि विज्ञहरूको सुझाव छ ।

पानीजन्य रोगबाट बच्न उमालेर वा सुरक्षित रूपमा शुद्धीकरण गरिएको पानी मात्र पिउन, ताजा खानेकुरा प्रयोग गर्न, शौचालयमै दिसापिसाब गर्न तथा दिसापिसाब गरेपछि र खाना बनाउनुअघि साबुनपानीले राम्रोसँग हात धुन चिकित्सकहरूले सुझाएका छन् ।