काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए । ईशान पाण्डेले २५ रन जोड्दा आरिफ शेख २० र शेर्फन रुदरफोर्ड २१ रनमा अविजित रहे ।
बलिङतर्फ चितवनका रञ्जित कुमारले तीन विकेट लिए । रिजन ढकाल र मौसम ढकालले समान एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । उसका लागि रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए । विवेक यादवले १७, डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर रजाले समान १५ रन जोडे ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए । हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले समान एक विकेट हात पारे ।
चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारको नतिजा निकालेको छ । यता, तीन खेल खेलेको चितवनले एक जित र एक हार बेहोरेको छ भने लुम्बिनी लायन्ससँगको एक खेल वर्षाका कारण रद्द भएको थियो ।

.gif)


