काठमाडौं - प्रतिपक्षी दलहरूले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले जनजीविका, राष्ट्रियता, लोकतन्त्र र संविधानसँग जोडिएका विषयमा गम्भीर छलफल गर्न संसद् बैठक तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो ।
बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले प्रतिपक्षी दलहरूले यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेको जानकारी दिए ।
‘प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद् बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।
हमालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल भएको थियो । छलफलका क्रममा नेपालको राजनीतिक वृत्तमा गम्भीर समस्या देखिएको निष्कर्ष निकालिएको उनले बताए ।
‘राष्ट्रियताको सम्बन्धमा पनि गम्भीर प्रश्नहरू उठेका छन्,’ उनले भने, ‘त्यस्तै जनजीविकाका सवाल, विपद्बाट जनताले पाउनुपर्ने राहत, मुक्ति र पुनर्निर्माणका विषयमा पनि हामीले गम्भीर छलफल गर्यौँ ।’
प्रतिपक्षी दलहरूले संसद् बैठक आह्वान गरेर जनताका सरोकार, राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि उठेका प्रश्नहरूबारे गम्भीर छलफल गर्नुपर्नेमा जोड दिएका छन् ।

.gif)


