काठमाडौं - अस्ट्रेलियाका अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका हुन् ।
यद्यपि, उनी बिग बास लिग (बीबीएल)मा मेलबर्न स्टार्सबाट खेल्नेछन् । क्लबले उनको सम्झौता २०२७–२८ सिजनसम्मका लागि नवीकरण गरेको छ ।
म्याक्सवेलले गत वर्ष जुनमै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटबाट सन्यास लिएका थिए । तर, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उपलब्ध रहने निर्णय गरेका थिए ।
उनले सन् २०२६ को टी–२० विश्वकप पनि खेलेका थिए । तर, अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको थियो ।
विश्वकपमा ओमानविरुद्ध गत फेब्रुअरीमा खेलेको खेल नै म्याक्सवेलको देशका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो । उक्त खेलमा उनले बलिङबाट दुई विकेट लिएका थिए भने ब्याटिङ गर्ने अवसर पाएका थिएनन् ।
‘टी–२० विश्वकपअघि र पछि हामीबीच धेरै छलफल भएको थियो । अस्ट्रेलियाली टोली व्यवस्थापनबाट कुनै दबाब थिएन । हामीले भविष्यका लागि नयाँ खेलाडीलाई अवसर दिने निर्णय गर्यौँ । बंगलादेशमा पनि युवा खेलाडीले अवसर पाए र राम्रो प्रदर्शन गरे,’ म्याक्सवेलले फाइनल वर्ड पोडकास्टमा भने ।
दुई पटक एकदिवसीय विश्वकप जितेका म्याक्सवेलले सन् २०२१ मा अस्ट्रेलियालाई पहिलो पटक टी–२० विश्वकप च्याम्पियन बनाउने क्रममा विजयी रनसमेत प्रहार गरेका थिए ।
उनले आफ्नो घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)मा अस्ट्रेलियाका लागि अन्तिम खेल खेल्ने इच्छा रहेको बताए ।
‘एमसीजीमा अन्तिम खेल खेल्दै बिदाइ पाउने सानो आशा थियो । तर, टोलीले लिएको दिशालाई म पूर्ण रूपमा बुझ्छु । सन् २०२८ को ओलम्पिकलाई ध्यानमा राख्दै आगामी १२ देखि २४ महिनामा टोलीमा धेरै परिवर्तन हुनेछन् । युवा खेलाडीलाई अन्तर्राष्ट्रिय दबाबमा खेल्ने अवसर दिन आवश्यक छ,’ उनले भने ।
म्याक्सवेलले फ्रेन्चाइज क्रिकेटमा भने सक्रियता कायम राखेका छन् । गत सेप्टेम्बरमा पहिलो पटक आयोजना भएको युरोपियन टी–२० प्रिमियर लिगमा उनले बेलफास्ट वुल्भ्सको कप्तानी गर्दै टोलीलाई फाइनलसम्म पुर्याएका थिए । त्यसको पाँच दिनपछि उनले भिक्टोरियाबाट दुई खेलको एकदिवसीय प्रतियोगिता खेलेका थिए ।
भिक्टोरियाका लागि अन्तिम एकदिवसीय खेल खेलेपछि साथी खेलाडीहरूलाई सन्यासको जानकारी गराउँदा भावुक बनेको उनले बताए ।
‘राज्यका लागि खेल्दा सधैँ उत्कृष्ट साथीहरू र समर्थन पाएँ । उनीहरूसँग आफ्नो अन्तिम खेलबारे कुरा गर्दा सोचेभन्दा बढी भावुक भएँ । अब बाँकी प्रतियोगिता खेल्न शरीरलाई थप समय दिनुपर्नेछ,’ उनले भने ।
इंग्ल्यान्डको अस्ट्रेलिया भ्रमणअन्तर्गत मेलबर्नमा टी–२० अन्तर्राष्ट्रिय खेल पनि हुँदैछ । उक्त खेल खेल्न आफूलाई तयार पार्ने विकल्प भए पनि घुँडामा उपचारका लागि इन्जेक्सन लगाएर बीबीएलका लागि फिट हुने तयारीमा रहेको उनले बताए ।
‘अन्तर्राष्ट्रिय क्रिकेटको ढोका बन्द भएपछि शरीरको पुनःस्थापनामा ध्यान दिन पाएँ । बीबीएलका लागि बलियो र फिट हुन आठ हप्ताको पुनःस्थापना सुरु गरेको छु । पछिल्लो १५ वर्षदेखि टी–२० क्रिकेट मेरा लागि घरजस्तै बनेको छ,’ म्याक्सवेलले भने ।
म्याक्सवेलले अस्ट्रेलियाका लागि १३० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ८९७ रन बनाएका छन् । उनले ५१ विकेटसमेत लिएका छन् । उनको स्ट्राइक रेट १५४.४२ रहेको छ ।
टी–२० अन्तर्राष्ट्रियमा पाँच शतक प्रहार गरेका म्याक्सवेल सर्वाधिक शतक बनाउने खेलाडीको विश्व कीर्तिमानमा भारतका रोहित शर्मासँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।
उनले अस्ट्रेलियाका लागि सात टेस्ट खेलेका थिए । सन् २०१७ मा अन्तिम टेस्ट खेलेका म्याक्सवेलले कुल ३३९ रन बनाएका छन् । उनको उच्च स्कोर १०४ रन हो, जुन उनले भारतविरुद्ध राँचीमा बनाएका थिए ।

.gif)


