काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा आज मंगलबार पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन बन्द गर्न लागेको जनाएको हो ।
प्रशासनका अनुसार मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।
यसअघि सोही कामका लागि सोमबार पनि तीन घण्टा सडक बन्द गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आज पुनः सवारी आवागमन रोक्न लागिएको प्रशासनले जनाएको छ ।
सडक बन्द हुने समयमा राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई समय व्यवस्थापन गरी यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

.gif)


