सुर्खेत - माथिल्लो डोल्पामा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

तीन महिला र तीन पुरुष गरी ६ जना भारतीय पर्यटक गत १४ कात्तिकदेखि हिमाली क्षेत्रमा फसेका थिए ।

आवश्यक प्रशासनिक अनुमति नलिई जोखिमपूर्ण हिमाली बाटो हुँदै डोल्पा पुगेका उनीहरू हिमपातपछि सम्पर्कविहीन भएका थिए ।

डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट फोक्सुण्डो तालतर्फ फर्किने क्रममा उनीहरू नुमला र वाग्ला पास आसपासको क्षेत्रमा हिमपातमा फसेका थिए । मौसम प्रतिकूल बनेपछि उनीहरूको उद्धारका लागि हेलिकोप्टर पठाइएको थियो ।

सोमबार बिहान पुगेको हेलिकोप्टरले पहिलो उडानमा दुई महिला पर्यटकलाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याएको थियो । दोस्रो उडानमार्फत बाँकी एक महिला र तीन पुरुष पर्यटकको पनि उद्धार गरिएको हो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै ६ जना पर्यटकको स्वास्थ्य अवस्था सामान्य छ ।

जिल्ला प्रशासन कार्यालयमा गत १४ कात्तिकमै पर्यटकहरू हिमपातमा फसेको जानकारी पुगेको थियो । त्यसलगत्तै उद्धारको प्रयास थालिए पनि प्रतिकूल मौसम र हेलिकोप्टर व्यवस्थापनमा समस्या हुँदा उद्धारमा ढिलाइ भएको थियो ।