काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) खारेज नगरिएको स्पष्ट पारेका छन् । सिंहदबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सिसिएमसी खारेज नभई थप सशक्त बनाइएको बताएका हुन् ।

‘सिसिएमसी खारेज भएको होइन, कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सिसिएमसीको नै हो’, उनले भने, ‘सिसिएमसीलाई थप व्यवस्थित मात्र बनाइएको हो, सिसिएमसी छँदैछ ।’ उनले केही सञ्चारमाध्यमले सिसिएमसी खारेज गरेको हल्ला फिजाएको भन्दै त्यस्तो नभएको स्पष्ट पारेका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा गठन गरिएको निर्देशक समितिले देशभरी कोभिड–१९ व्यवस्थापन कार्यलाई निर्देशन दिने जानकारी दिए । सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट यही जेठ ६ गते कोरोनाको रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १० सदस्यीय निर्देशक समिति समेत गठन गरेको थियो ।

उनले आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गरेकोले नेता माधवकुमार नेपाल समूहलाई कारबाही गरिएको बताए । ‘आफ्नो पार्टीका अध्यक्षको कामकारबाही चित्त नबुझे पार्टीभित्र छलफल र महाविधेशनबाट हटाउन सकिन्छ,’ उनले भने, ‘तर पार्टीभित्र छलफल नगरी आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर गरेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कुरा पार्टी हित विपरीत छ ।’

उनले पार्टीमा अहिले देखिएको अन्तरविरोध साम्य पार्नतिर लाग्नुपर्ने तथा पार्टी र आन्दोलनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता गर्दा ताका भएका भु्रणहरु विकसित भएर अहिलेको अवस्थामा पुगेको उनको भनाइ छ ।