बालुवाटारमा प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल
काठमाडौं - वर्तमान सुरक्षा चुनौतीको अवस्थाबारे छलफल गर्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ।
प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू र चारवटै सुरक्षा निकायका प्रमुखहरूबीच सुरक्षा चुनौतीबारे छलफल भएको हो।
प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएअनुसार छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।
करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ-आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए। सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो।
बैठकपछि गृहमन्त्री अर्यालले अहिलेको सुरक्षा अवस्थाबारे बैठकमा सूक्ष्म विश्लेषण गरिएको बताए।
उनले भने- ‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौँ।’
अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि गृहमन्त्री अर्यालले आग्रह गरेका छन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस