डाक्टर नर्समाथि भएको कुटपिट अमानवीयः प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाक्टर नर्समाथि भएको कुटपिट अमानवीय भएको बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्सहरु माथि कुटपिट भएको घटना अमानवीय भएको भन्दै प्रचण्डले पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
शुक्रबार सामाजिक संजालमा एक पोस्ट गर्दै प्रचण्डले सो घटनाप्रति खेद प्रकट गर्दै ध्यानकर्षण भएको बताएका हुन् । हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरिनुपर्ने प्रचण्डको भनाई छ ।
भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका हुन् ।
भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठका अनुसार मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् ।
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति मानबहादुर रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै स्वास्थ्यकर्मीले खबरदारी गरिरहेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस