काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता भएको छ ।

राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् ।

गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले २० कात्तिकभित्र राजनीतिक नियुक्तिका आधारमा विदेशमा कार्यरत ११ राजदूतहरूलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन पत्राचार गरेको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले १४ साउन २०८१ मा अष्ट्रेलियालगायत १७ मुलुकमा राजदूत नियुक्ति गरेको थियो । तीमध्ये ६ जनालाई भने निरन्तरता दिइएको थियो ।

हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् । अधिवक्ता सिलवाल दायर गरेको निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ ।

निवेदनको पहिलो पेसी मंसिर ७ गतेका लागि तोकिएको छ ।