काठमाडौं - विपक्षी दलहरूको बैठकले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका कामबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
बैठकले सरकारी राहत, उद्धार, खोज तथा पुनर्स्थापनाको कामको अनुगमन र निरीक्षण गर्नुका साथै आवश्यक सुझाव दिन तथा संसदीय तहबाट सहजीकरण गर्न विशेष समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिइन्।
सरकारले अहिलेसम्म संसदीय विशेष समिति गठन नगरेको भन्दै त्यसका लागि संसद्मा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यानाकर्षण गराउने निर्णय भएको अर्यालले बताइन्।
'विपद् व्यवस्थापनसँग जोडिएका राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका काममा सरकारलाई सहयोग गर्न, सरकारका कामको अनुगमन तथा निरीक्षण गर्न र थप सुझाव दिन संसदीय विशेष समिति गठनको माग गरेका थियौँ । अहिलेसम्म समिति गठन नभएकाले यो मागलाई निरन्तर अघि बढाउने र संसद्मा समेत सशक्त रूपमा आवाज उठाउने निर्णय गरेका छौँ,' उनले भनिन्।’
बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी थिए। प्रमुख प्रतिपक्षी दल राप्रपा भने बैठकमा सहभागी भएन।

.gif)


