काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित जनता समाजवादी पार्टीका नेताले लिएर गएको सांसद ‘अपहरण’ सम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । 

परिसरको मुद्दा शाखाका डीएसपी कृष्ण चन्द र एसपी सोमेन्द्र सिंह राठोरले घटनास्थलमै दर्ता गर्नुपर्ने भन्दै मुद्दा दर्ता गर्न अस्वीकार गरेका हुन् ।

मुद्दा दर्ता गर्न शाखाका प्रहरी अधिकारीले आनाकानी गरेपछि अहिले प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसँग नेताहरुले छलफल गरिरहेका छन् । 

पूर्वप्रधानमन्त्री भट्टराईसहितका नेता आइतबार दिउँसो  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत र किसान श्रेष्ठसँगै पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न पुगेका हुन् । 

मुद्दा दर्ता गर्न अपहरित भएका भनिएका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादवसमेत टेकु पुगेका हुन् । वैशाख १० गते महोत्तरी पुगेर सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयास गरेको आरोप लागेको छ।

सोही प्रयासस्वरुप उनीहरुले सांसद यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए। समाजवादी पार्टीका नेताले प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवको अपहरण गरेको दाबी गरेका छन्।