‘एयर अरेबियाद्वारा चार्टर उडान नियम उल्लंघन’
काठमाडौं - एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठहर गरेको छ । भदौ ९ मा यूएईको शारजाहबाट १ सय ६१ नेपाली यात्रु ल्याउँदा नियमविपरीत पीसीआर परीक्षण नगरेका यात्रुलाई समेत ल्याइएकाले सरकारको नियम उल्लंघन भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
उडानका क्रममा एयर अरेबियाको त्रुटि देखिएकाले सचेत गराउने बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षता बसेको बैठकले निर्णय गरेको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले बताए ।
उनका अनुसार पीसीआर जाँच गराई आएका १ सय ४२ जना यात्रुसँग होटल क्वारेन्टाइन बसाइबापत लिइएको रकमसमेत सम्बन्धित यात्रुलाई फिर्ता गर्न तथा अब उप्रान्त यस्तो कार्य नगर्न/नगराउन एयर अरेबियालाई सचेत गराइएको छ । मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव भट्टराईले मन्त्रालयको उक्त निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिइएको बताए ।
यस घटनामा वायुसेवा कम्पनीबाट लापरबाही भएको भन्दै यात्रुबाट उजुरी परेपछि पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा ३ दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार तीन सदस्यीय छानबिन समि बनाएका थिए । सहसचिव भट्टराईले छानबिन समितिको प्रतिवेदनबारे भने बोल्न चाहेनन् । ‘प्रतिवेदनबारे अहिले केही नबोलौं,’ उनले भने, ‘आज (बुधबार) निर्णय भएर पनि आइसक्यो, अब प्रतिवेदनमा किन जानुपर्यो ?’
स्रोतका अनुसार उक्त उडानमा सवार १ सय ४२ जना यात्रुसँग पीसीआर र १८ जनासँग आरडीटी परीक्षण नेगेटिभ आएको रिपोर्ट थियो भने एक यात्रु बिना कुनै परीक्षण नै नेपाल आएका थिए । एयर अरेबियाका नेपालस्थित प्रमुख गणेश आर्यनले उद्धार उडानको अनुमतिमा अति ढिलाइ भएका कारण कठिनाइ उत्पन्न भएको समितिलाई बयान दिएका छन् । त्यसैगरी, एयर अरेबियाको नेपालस्थित एजेन्ट कम्पनी प्रेसिडेन्ट ट्राभलका सञ्चालक सिद्धार्थ थापाले चार्टर उडानमा आउने सबै यात्रुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने सरकारको संशोधित नियमबारे ढिलो जानकारी प्राप्त भएका कारण आरडीटी र पीसीआर दुवै प्रकारको परीक्षण गराएका यात्रु पर्न गएको स्पष्टीकरण दिएका छन् । उनले कुनै पनि यात्रुसँग अतिरिक्त रकम नलिएको तर रोजगारदाता कम्पनीले नै प्रतियात्रु ५ सय ६० दिरामसम्म होटल खर्चबापत भन्दै दिएको बताएका छन् । सरकारले भदौ ४ अघि चार्टर उडानमा स्वदेश फर्किन पीसीआर र आरडीटी परीक्षण नेगेटिभ भएको वा चिकित्सकले बनाइदिएको ‘फिट फर फ्लाई’ प्रमाणपत्र भए मान्ने हुने नियम बनाएको थियो । तर भदौ ४ मा बसेको मन्त्रिपरिषद् बैठकले विमान चढ्नुअघिको ७२ घण्टाभित्रैको पीसीआर रिपोर्ट अनिवार्य गरेको थियो । उक्त बैठकले यूएईलाई सहज पीसीआर हुने मुलुकको सूचीमा समेत राखेको थियो । भदौ १६ देखि खुला गरिएको नियमित उडानमा पनि आरडीटी परीक्षण र चिकित्सकले बनाइदिएको ‘फिट फर फ्लाई’ प्रमाणपत्रका आधारमा नेपाल आउन रोक लगाइएको छ ।
‘परिवर्तित नियमबारे ढिलो जानकारी दिइनु कमजोरी’
छानबिन समितिले उद्धार उडानमार्फत आएका यात्रुलाई होटल क्वारेन्टाइनमा राख्ने सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट छिटो–छिटो निर्णय परिवर्तन हुनुलाई पनि कमजोरी भनेको छ । ‘यसरी भएका निर्णयहरू सम्बन्धित वायुसेवा कम्पनी र नेपाली कूटनीतिक नियोगहरूमा स्पष्ट रूपले समयमै नपुग्दा यात्रुहरूले पर्याप्त सूचना पाउन नसकेको देखियो,’ उच्च स्रोतले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ । समितिले आगामी दिनमा उडान अनुमति दिँदा नै पीसीआर परीक्षणबारेका सर्तहरू समयमै जानकारी गराउन पनि सबै निकायलाई सुझाएको छ । समितिले पर्यटन मन्त्रालयको सूचनाअनुसार परराष्ट्र मन्त्रालयमार्फत आबुधाबीस्थित नेपाली दूताबासबीच पनि समन्वय अभाव रहेको जनाएको छ । त्यस्तै, पर्यटन मन्त्रालय र दूतावासले प्रकाशन गरेको सूचनामा पनि एकरूपता नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रिपरिषद्, सीसीएमसी, पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालय, सम्बन्धित दूतावास, वायुसेवाबीच प्रभावकारी सूचना सम्प्रेषण नभएकै कारण यूएईको शारजाहबाट आएका सबै १ सय ६१ यात्रु ९ दिनदेखि काठमाडौंका विभिन्न होटलमा बसेका थिए । उनीहरू काठमाडौं उत्रिएको ७ दिनमै घर जान पाउनुपर्ने थियो । तर बुधबार राति मात्र उनीहरूलाई पठाइएको छ ।
कान्तिपुर दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस