काठमाडौं - भारतका चर्चित संगीतकार अनु मलिकलाई भारतीय रियालिटी शो इण्डियन आइडल–११ बाट हटाइएको छ ।

अनु मलिक इण्डियन आइडल-११ बाट बाहिरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । उनको स्थानमा शोमा आउने व्यक्तिको बारेमा केही बताइएको छैन ।

इण्डियन आइडल ११ को निर्णायक बनेसँगै भारतीय गायक तथा संगीतकार अनु मलिकको चर्को आलोचना भइरहेको थियो । मलिकमाथि कैयौं महिलाहरुले मिटू अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए ।

भारतीय गायिका सोना मोहापात्रा र नेहा भसीनले अनु मलिक इण्डियन आइडल–११ को निर्णायक बनेलगत्तै आपत्ति जनाएका थिए ।मोहापात्राले महिला एवं बालविकास मन्त्री स्मृति इरानीलाई खुल्ला पत्र लेखेर मलिकलाई निर्णायकको पदबाट हटाउन माग समेत गरेकी थिइन् ।

यसअघि पनि अनु मलिकले मि टू अभियानअन्तर्गत उनले यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो । अनु मलिकलाई आरोप लागेपछि सोनी टेलिभिजनलाई राष्ट्रिय महिला आयोगले स्पष्टीकरण दिन पत्र पठाएको थियो ।

यसअघि सन् २०१८ मा गायिका सोना मोहापात्रा, नेहा भसीन र श्वेता पण्डितलगायत कैयौँ महिलाहरुले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए ।

तर मिडियासँग कुरा गर्दै मलिकले आफू कुनै पनि किसिमको दबाबमा आएर नभई आफ्नो स्वेच्छाले शोबाट बाहिरिएको बताएका छन् ।