सुनसरी - सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च पुगेपछि कोशी ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ८ बजे गरिएको मापनअनुसार सप्तकोशीमा प्रतिसेकेन्ड ३ लाख १३ हजार ३ सय क्युसेक पानीको बहाव पुगेको हो ।
सप्तकोशीमा १ लाख ५० हजार क्युसेकभन्दा बढी बहावलाई जोखिमपूर्ण मानिन्छ। बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ।
पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोशीको बहाव अझ बढ्न सक्ने भन्दै प्रहरीले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
नदीको बहाव बढ्दै गएपछि तटीय बस्तीका बासिन्दा त्रसित बनेका छन्।
लगातारको वर्षाका कारण जलसतह थप बढ्न सक्ने भएकाले प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै, कोशी ब्यारेज हुँदै पूर्व–पश्चिम आवतजावत गर्ने सवारीसाधनमा समेत सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।




