काठमाडौं - नेपाल र काजकिस्तानबीच कूटनीतिक तथा सरकारी सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा आयोजित साइडलाइन कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र काजकिस्तानका परराष्ट्रमन्त्री मुख्तार त्लिउबर्दीले आ–आफ्ना सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दुवै देशका कूटनीतिक तथा सरकारी सेवा राहदानीवाहकले एकअर्काको देश भ्रमण गर्दा भिसा लिनुपर्ने छैन। यस व्यवस्थाले दुवै देशका सरकारी अधिकारीको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।
सम्झौताले नेपाल र काजकिस्तानबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौतामा हस्ताक्षर गर्नुअघि मन्त्री खनाल र काजकिस्तानका परराष्ट्रमन्त्री त्लिउबर्दीबीच द्विपक्षीय भेटवार्ता भएको थियो।
भेटमा दुवै पक्षले आपसी हितका विषयमा विचार आदानप्रदान गर्नुका साथै नेपाल–काजकिस्तान सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।




