काठमाडौं - सरकारले विभिन्न १३ देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिविरुद्ध उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ ।

समितिले शनिबार सूचना जारी गर्दै प्रस्तावित राजदूत नियुक्तिका लागि उपयुक्त नभएको लागेमा त्यसको स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संघीय संसद् सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिनेछ ।

उजुरी गर्दा सम्बन्धित प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा उजुरीको स्पष्ट आधार खुलाउनुपर्ने समितिले जनाएको छ ।

समितिको असोज ८ गते बसेको बैठकले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबर राणा र जर्मनीका लागि सरू जोशी सिफारिस भएका छन् ।

त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा। पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन् ।

प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि संसदीय सुनुवाइ हुने समितिले जनाएको छ । सुनुवाइ प्रक्रिया पूरा भएपछि मात्रै राजदूत नियुक्तिका लागि थप प्रक्रिया अघि बढ्नेछ ।