काठमाडौं - प्रमुख प्रतिपक्षी कांग्रेसमा १४औँ महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक विवाद झन् बल्झिएको छ । एउटै झन्डामुनि दुई वार्ता टोली बनाएर सहमतिको प्रयास भइरहेको छ ।

तर, एक सातासम्म प्रयास गर्दा पनि वार्ता निष्कर्षविहीन छ । कांग्रेस केन्द्रीय कार्यसमितिको चारवर्षे अवधि फागुनमा सकिँदै छ । तर, महाधिवेशनको कार्यतालिका ल्याउनुको सट्टा सभापति शेरबहादुर देउवाले बल्ल विभाग गठन र भ्रातृ संगठनको नेतृत्वमा मनोनयन गर्न खोजेको भन्दै  पौडेल र सिटौला समूहले केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका छन् । २६ मंसिरमा बोलाइएको केन्द्रीय समिति बैठक देउवाइतर सदस्य सहभागी नभएपछि सहमतिको प्रयास सुरु भएको हो । 

दुवै वार्ता टोलीबीच एक सातासम्म दिनहुँजसो भएका छलफलमा पनि सहमति जुटेको छैन । संस्थापन देउवाका तर्पmबाट विमलेन्द्र निधिले जिम्मा लिएका छन् भने पौडेल पक्षको प्रतिनिधित्व प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानीले गरेका छन् । तैपनि सहमति नभएपछि सभापति देउवाले केन्द्रीय समितिको बैठक १० पुसका लागि पुनः बोलाएका छन् । 

गत वर्षको मंसिरमा भएको महासमिति बैठकमै नेता पौडेलले १४औँ महाधिवेशनको विषयलाई तालिकाबद्ध गरेर जाने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्तावमा महासमितिमा छलफल भएन । त्यसको एक वर्षपछि पनि सभापति देउवाले महाधिवेशन गर्ने विषयलाई प्राथमिकता नराखेको भन्दै पौडेल पक्षले विवाद चर्काएको हो । 

२६ मंसिर बिहीजार : पौडेल र सिटौला पक्षबाट बैठक बहिष्कार

महाधिवेशनको एजेन्डा बैठकमा नराखी संगठनमा पकड राख्ने नियतले केन्द्रीय समितिमा एजेन्डा ल्याएको आरोप लगाउँदै पौडेल र सिटौला पक्ष बैठक बहिष्कारसम्म पुगेका छन् । उनीहरूको बहिष्कारबीच २६ मंसिरमा भएको बैठकमा सभापतिले नौवटा एजेन्डा प्रस्तुत गरेका थिए । 

संघीयताअनुसार कांग्रेसको विधान संशोधन भए पनि सबै संरचना समायोजन भएका छैनन् । प्रतिनिधिसभा, प्रदेश सभा, गाउँ÷नगरपालिका एवं वडा समितिहरूको समायोजन पूरा भइनसकेकाले अधिवेशनको कार्यतालिका तत्काल बनाउन नसकिने तर्क देउवाले बैठकमा राखेका थिए । त्यस्तै, केन्द्रीय विभाग गठनको प्रस्ताव पनि उनीहरूले ल्याएका थिए । महाधिवेशन सकिएको दुई महिनाभित्र सकिनुपर्ने काम अब चार वर्ष पछि गरेर आगामी महाधिवेशनलाई प्रभावित गर्न खोजेको असन्तुष्ट समूहको आरोप छ । अझ, विधानतः २८ विभाग हुने व्यवस्था भए पनि ४१ विभाग गठन गरेर नेताहरूलाई आफ्नो पक्षमा पार्न खोजेकामा पौडेल पक्ष झस्किएको छ । नेपाल तरुण दलको म्याद ६ महिना थप्ने सभापतिको एजेन्डामा पनि उनीहरूको आपत्ति छ । अझ, देशभरका कांग्रेस क्रियाशील सदस्यको विवरण नै लुकाएको आरोप पनि सभापतिमाथि छ । 

२८ मंसिर शनिवार : असन्तुष्टलाई मनाउन देउवा पौडेलनिवासमा

असन्तुष्ट समूहलाई मनाउन सभापति देउवा २८ मंसिरमा उपसभापति विमलेन्द्र निधिससहित पौडेलनिवास बालाजु बोहराटार पुगे । सभापतिसँगको भेटमा पौडेलले १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिमा ल्याउनुपर्ने विषय नै आफूहरूको बटमलाइन भएको प्रस्ट्याए । दुई नेताबीच एजेन्डामा सहमति नभए पनि वार्ता टोली बनाउने र सहमति खोज्ने सहमति भएको थियो । त्यसो त यसअघिदेखि नै बैठकका सम्भावित एजेन्डाबारे छलफल गर्न देउवाले विश्वासपात्र निधिलाई खटाउँदै आएका थिए । उता, पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिष्कार गरेकै दिनदेखि नेता प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी रहेको वार्ता टोली बनाइसकेको थियो । 


२९ मंसिर आइतवार : दोस्रो बैठक पनि पौडेल पक्षद्वारा बहिष्कार

देउवासँग भेटेको भोलिपल्ट गत आइतबार पौडेल परिवारसहित पाथिभरा मन्दिरको दर्शन गर्न गए । जब कि, त्यस दिन पनि बैठक डाकिएको थियो । दोस्रोपटक पनि पौडेल पक्षले बहिष्कार गर्‍यो, तर सभापतिले दिनभरि बैठक चलाए । तर, आफूले यसअघि प्रस्तुत गरेका मुख्य एजेन्डामा छलफल नगरी धनुषा बम विस्फोटको छानबिनको माग, सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको विषयमा टिप्पणी, कञ्चनपुरमा हात्ती आक्रमणबाट जनधनको क्षतिबाट प्रभावितलाई राहत उपलब्ध गराउने विषयमा देउवाले छलफल चलाए ।

देउवाले पार्टी कार्यालय सानेपामा बैठक चलाइरहेको वेला आइतबार नै महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगन्जमा पौडेल पक्षको भेला भयो । भेलाले महाधिवेशनको तालिका, विधानअनुसार २८ वटा मात्र विभाग गठन गर्ने तथा तरुण दल र नेविसंघमध्ये एकको नेतृत्व आफ्नो पक्षले पाउनुपर्ने माग अघि सार्‍यो । त्यसअघि शुक्रबार नेता प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीनिवासको भेलाले पनि महाधिवेशनको कार्यतालिका, भ्रातृसंस्थामा भागबन्डा र विधानअनुसार २८ वटा मात्रै विभाग गठनमा जोड दिएको थियो । 

३० मंसिर सोमवार : वार्ताका लागि भन्दै त्यसयता तीनवटा बैठक स्थगित

सभापति देउवाले सोमबारका लागि पनि बैठक बोलाए । तर, सहमतिका लागि वार्ता भइरहेको भन्दै बैठक बुधबारसम्मका लागि स्थगित गरियो । तर, यसबीचमा पनि सहमति नभएपछि बैठक शुक्रबारका लागि सारिएको थियो । शुक्रबार पनि बैठक बस्न सकेन । यसरी दुईपटक बैठक बहिष्कार भयो, तीनपटक स्थगित भयो । छैटौँ प्रयासस्वरूप आगामी बिहीबार बैठक डाकिएको छ ।

बारम्बार भएका वार्तामा असन्तुष्ट समूहले निरन्तर महाधिवेशनको तालिकाको माग गरेपछि संस्थापनले एक वर्ष म्याद थपेर ०७७ फागुनको पहिलो साता १४औँ महाधिवेशन गर्न सकिने गरी कार्यतालिका ल्याउने वचन दिएको थियो । पौडेल पक्षले मंसिरमा नै महाधिवेशन गर्नुपर्ने मत राखेको थियो । अझै नेता पौडेलले त ०७७ असोजमै महाधिवेशन गर्नुपर्ने माग राखिरहेका थिए । तर, तालिका नै आए फागुनमा भए पनि मान्न पौडेल पक्ष तयार भइसकेको थियो । महाधिवेशनको कार्यतालिका ल्याउन तयार भएपछि विभाग र भ्रातृसंस्थामा आफूअनुकूल निर्णय गर्ने संस्थापन पक्षको रणनीति थियो । तर, २८ भन्दा बढी विभाग गठन गर्न नसकिने तथा नेविसंघ र तरुण दलमध्ये एकको नेतृत्व आफ्नो पक्षलाई चाहिने असन्तुष्ट समूहको अडान छ ।

कांग्रेसको पुरानै रोग

कांग्रेस स्थापनादेखि नै सुरु भएको गुटगत अभ्यास हरेक पुस्ताको नेतृत्वमा सर्दै आएको छ । गुटगत रूपमा प्यानल बनाएरै नेताहरू महाधिवेशनमा गएपछि हार्ने र जित्नेबीच विवादको असर नियमित संगठनको काममा पर्ने गरेको छ । ०७२ मा १३औँ महाधिवेशनको मुखमा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेल र शेरबहादुर देउवा सभापतिको प्रतिस्पर्धामा उत्रिए । महाधिवेशन जितेर सभापति भएलगत्तै देउवाले कांग्रेसमा गुटगत आधारमा भेदभाव नगर्ने, संगठनका नियमित काम गर्ने वाचा पनि गरेका थिए, तर पूरा गरेनन् भन्ने असन्तुष्ट समूहको गुनासो छ । अर्को महाधिवेशन आइसक्दा पनि केन्द्रीय समिति अझै अपूर्ण छ । पार्टीका नर्सरी मानिएका प्रमुख भ्रातृसंस्था नेविसंघ र तरुण दल महाधिवेशन गर्न नसकी लथालिंग छन् । अरू भ्रातृ र शुभेच्छुक संस्था वर्षौँदेखि महाधिवेशनविना भद्रगोल अवस्थामा छन् । पार्टीमा केन्द्रदेखि वडा तहसम्मका नेताले अवसर पाउने विभाग गठन अझै हुन सकेको छैन । देउवाको नियमित कार्यकाल सकिन अब तीन महिना मात्र बाँकी छ । तर, विशेष अवस्था देखाएर कार्यकाल एक वर्ष थप गर्न पाउने सुविधा सभापतिलाई विधानले दिएको छ । एक वर्षपछि महाधिवेशन हुने भएकाले दुवै पक्ष त्यसैको तयारीमा छन् । 

नयाँ पत्रिकाबाट