काठमाडौं - नेकपा एमालेले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि राजधानी आउने प्रतिनिधिलाई आवास अभाव नहोस् भन्ने उद्देश्यले विशेष बसोबास व्यवस्था मिलाएको छ।

पार्टीको सम्पर्क समन्वय कमिटीले काठमाडौंमा बस्न समस्या पर्ने प्रतिनिधिहरूलाई नेता तथा कार्यकर्ताको घर–कोठामा राख्ने तयारी पूरा गरेको जनाएको छ ।

समन्वय कमिटीका सचिव आरसी लामिछानेका अनुसार यसपटक महाधिवेशन आयोजक कमिटीले प्रत्यक्ष आवास व्यवस्था नगरेकाले वैकल्पिक रूपमा कार्यकर्तामार्फत बसोबास सुनिश्चित गरिएको हो ।

“टाढाबाट आउने प्रतिनिधिलाई आवास र खानाको समस्या नहोस् भनेर हामीले नेता–कार्यकर्ताका घरमा राख्ने व्यवस्था गर्दैछौँ,” उनले भने, “प्रदेशगत विवरण संकलन गर्ने काम जारी छ।” महाधिवेशनमा करिब २,२०० प्रतिनिधि सहभागी हुने छन् ।