काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको गुनासो पोखेका छन् ।

बिहीबार प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै मन्त्री भट्टले नेताहरुकै संरक्षणमा चिनी उद्योगीहरुले किसानको पैसा नतिरेको जिकिर गरेका हुन् । ‘सामाजिक सञ्जालमा किसानको पक्षमा भएझैं गरी नेताज्यूहरु रोइलो गर्नु हुन्छ’ मन्त्री भट्टले भने, ‘तर, फोन गरेर ३–४ दिनमै तिर्छु भनेका छन्, उद्योगीहरुलाई पक्राउ नगरिदिनुस् है भन्नुहुन्छ । यो कस्तो चरित्र हो ?’

सर्लाहीका उखु किसानले आइतबारबाट माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच भएको ५ बुँदे सहमति कार्यन्वयन नभएपछि उनीहरु पुनः काठमाडौं आएका हुन् । उनीहरुका अनुसार चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।