गोरखा - बूढीगण्डकी नदीमा आएको भीषण बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीले आयोजनाका मुख्य क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज, पहुँच सडक तथा आयोजनास्थल पुग्ने पुलमा क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बाढीबाट ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणसमेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
त्यस्तै, २४।५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ। दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाको बेलिब्रिजसमेत बाढीले बगाएको छ।
३०।९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना पनि बाढीको चपेटामा परेको छ। यारु हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरण बाढीले बगाएको विवरणमा उल्लेख छ।
यसैगरी, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ। वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनामा भएको क्षतिले निर्माण कार्यसँगै आयोजनास्थलसम्मको आवागमनसमेत प्रभावित हुन सक्ने देखिएको छ।
चारवटै आयोजनामा भएको क्षतिको विवरण प्रारम्भिक मात्रै हो। बाढीबाट भएको कुल आर्थिक क्षति, निर्माण कार्यमा परेको असर र पुनर्निर्माणका लागि लाग्ने समयबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

.gif)


