गोरखा - बूढीगण्डकीमा आएको भीषण बाढीले गोरखामा ठूलो क्षति पुर्‍याएको छ।

बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घरसमेत बगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीको चपेटामा परेको छ।

त्यस्तै, माछिखोला–केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्‍याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।

बाढीले जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत क्षति पुर्‍याएको छ। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको छ।