बैतडी - बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बिहीबार साँझ करिब साढे ६ बजे वनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका वडा नं ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय बिष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका वडा नं ७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका वडा नं ७ का ४० वर्षीया पुष्पा अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बसमा सवार अन्य ४५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिँदैछ।