काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले संविधान अनुसार नभइ खास उद्देश्यले काम गरिरहेको आरोप लगाएका छन् ।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले शर्त राखेर नै वर्तमान सरकार शपथ लिएको जिकिर गरे ।

उनले प्रश्न गर्दै भने- ‘बलमिच्याइँले गरेर बनेको सरकारको डरले ओलि भाग्छ ?, सुशीला कार्कीको डरले केपी ओली गुटुटु भाग्छ ?’

उनले आफूसहितका नेताको पासपोर्ट रोक्ने निर्णय गरेर तमासा गरिएको बताए ।

उनले भने- ‘संसद् भंग गर्ने पूर्वशर्त राखेर सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो । तर, नेपालको संविधानले प्रष्ट भन्छ, पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन, प्रधानमन्त्रीमा त कुरै छाडिदिउ, उहाँ २३ गते जेनजी भनेर प्रधानमन्त्री बन्नकै लागि सडकमा उत्रनुभयो ।’