काठमाडौं - गृह मन्त्रालयले भिजिट भिसासम्बन्धि सरल कार्यविधि बनाएको छ । बिहीबार स्वीकृत भएको कार्यविधिअनुसार अब भिजिट भिसामा विदेश जाँदा पासपोर्ट, भिसा र टिकट बाहेक अध्यागमन कर्मचारीले थप कागजपत्र माग्ने छैनन् ।

यसअघिको ६ बुँदे कार्याविधि संशोधन गरी तीन बुँदे बनाइएको हो । जसअनुसार ६ महिना अवधि भएको पासपोर्ट, गन्तब्य देशको भिसा र टिकट मात्र अध्यागमनले जाँच गर्नेछ । यसअघि दुईतर्फी हवाई टिकट, न्यूनतम पाँच सय अमेरिकी डलर र होटल बुकिङ समेत देखाउनुपर्ने प्रावधान थियो ।

नयाँ कार्यविधि स्वीकृत भएको र अध्यागमन विभागले त्यसलाई कार्यान्वायनमा लैजाने गृह मन्त्रालयले जनाएको छ । दुईतर्फी टिकटका कारण पनि धेरै ठगी हुने गरेकाले एकतर्फी मात्र टिकटको प्रावधान राख्न लागिएको अध्यागमन विभागले जनाएको छ ।

त्यस्तै, होटेल बुकिङको कागजपत्र पनि जाँच गर्ने प्रणाली नभएकाले त्यसलाई अनिवार्य बुँदामा राखिएको छैन । पाँच सय डलरको प्रावधान अनावश्यक भएको भन्दै हटाइएको छ ।

सहज प्रावधान राख्दा वैदेशिक रोजगारीको उदेश्यले भिजिट भिसामा धेरै विदेश जाने र उता समस्यामा पर्न सक्ने समेत आकलन गरिएको छ । त्यसका लागि श्रम प्रक्रियालाई सहज बनाउने तथा विदेशस्थित संयन्त्रलाई सक्रिय बनाउने सरकारको तयारी छ ।

यसअघि अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेसँग दैनिक ५० लाखभन्दा धेरै असुली गरिएको खुलेको थियो । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेको छ ।

संगठित रूपमा असुली धन्दा चलेको खुलेपछि अख्तियारले तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जस क्रममा गृह मन्त्रालयको समेत संरक्षणमा उनले भिजिट भिसामा विदेश जाने र नेपालबाट उड्ने भारतीयसँग असुली धन्दा चलाएको खुलेको थियो ।

सो घटना बाहिरिएपछि विपक्षी दलको मागअनुसार सरकारले गठन गरेको समितिले पनि कार्यविधिलाई सरल बनाउन सिफारिस गरेको थियो । सोहीअनुसार नयाँ कार्यविधि बनेको हो ।

पूर्वमुख्यसचिव शंकरदास बैरागी अध्यक्षताको समितिले एक महिनाअघि प्रतिवेदन बुझाउँदै कार्यविधि संशोधन गर्न सुझाव दिएको थियो । समितिले श्रम स्वीकृतिलाई सरल बनाउन र विदेशस्थित सरकारी संयन्त्रलाई बलियो सुझाव दिएको थियो ।