बझाङ - बझाङको बुंगलमा भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

दुर्घटनामा हराइरहेकी चार वर्षीया बालिकाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या चार पुगेको हो।

सोमबार बिहान बुंगल गाउँपालिका–१० टुमेडाबाट बुंगल–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो दुर्घटनामा परेको थियो। ब्रेक फेल भएपछि अटो सडकबाट करिब ९०० मिटर तल खसेको थियो।

चालकसहित ६ जना सवार अटो दुर्घटनामा सुरुमा तीन जनाको मृत्यु भएको थियो भने दुई जना सम्पर्कविहीन भएका थिए। घटनास्थलमा खोजी गर्ने क्रममा थप एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार बुंगल नगरपालिका–१० की चार वर्षीया रियास महराको शव भेटिएको हो।

यसअघि सोही ठाउँकी ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको शव फेला परेको थियो।

अटोमा सवार १३ वर्षीय विक्रम महरा भने सकुशल रहेको र घरतर्फ गएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

अटो चालक बुंगल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।