सर्लाही - मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारलाई भेट्न सभामुख डोलप्रसाद (डीपी) अर्याल सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर पुगेका छन् ।

सभामुख अर्यालले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरी समवेदना व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कडा कदम चालिने बताए ।ges

पीडित परिवारलाई राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

भेटका क्रममा पीडित परिवारका सदस्यहरूले दुर्घटनापछिको अवस्था, आफूहरूले भोग्नुपरेका समस्या तथा राहत र पुनःस्थापनाका विषयमा सभामुखसमक्ष आफ्ना कुरा राखेका थिए ।

सभामुख अर्यालसँगै सर्लाही निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य नितिमा कार्की, क्षेत्र नम्बर २ का सांसद रविन महतो, क्षेत्र नम्बर ३ का सांसद नरेन्द्र साह कलवार र पर्साबाट निर्वाचित सांसद रहबर अन्सारी पनि सुन्दरपुर पुगेका थिए । भ्रमणमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी पनि सहभागी थिए ।