काठमाडौं - घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आज मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।
प्रशासनका अनुसार उक्त सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको छ । सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम सुरु गर्न लागिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा सडक बन्द रहने पाँच घण्टाको अवधिमा जोखिमयुक्त ढुंगा र माटो हटाउने कार्य गरिने उल्लेख छ ।
सडक बन्द हुने समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइने प्रशासनले जनाएको छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा तोकिएको समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

.gif)


