काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।
लगातार दोस्रो संस्करण फाइनलमा आमनेसामने हुन लागेका यी दुई टोलीबीचको भिडन्तलाई यसपटक पनि चासोका साथ हेरिएको छ । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले पहिलो पटक उपाधि जितेको थियो ।
त्यसैले लुम्बिनी यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने सुदूरपश्चिम विगतका दुई फाइनलको हार बिर्साउँदै पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ ।
पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो ।
यसपटक सुदूरपश्चिम लगातार तीन पटक फाइनल पुगेर पनि उपाधिविहीन बन्ने इतिहास बदल्ने लक्ष्यसहित मैदान उत्रनेछ । अर्कोतर्फ लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्दै एनपीएलमा आफ्नो वर्चस्व कायम राख्न चाहन्छ ।
लुम्बिनीको कप्तानी रोहित पौडेल र सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् । दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव हासिल गरेका खेलाडी रहेकाले फाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

.gif)


