काठमाडौँ - नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् आयात गर्ने भएको छ । अहिले नेपालसँग ४० मेगावाट बिजुली किन्दै आएको बंगलादेशले थप बिजुली किन्ने सहमति गरेको हो । बंगलादेशको ढाकामा भएको बिहीबार नेपाल (बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा उक्त सहमति भएको हो । नेपाल तर्फबाट ऊर्जा सचिव चिरञ्जीवी चटौत र बंगलादेश सरकारको विद्युत् ऊर्जा तथा खनिज सचिव फर्जाना ममताजको सहअध्यक्षतामा ७औं बैठक बसेको हो ।

मंसिर १० मा नेपाल सरकारका ऊर्जा सहसचिव सन्दीप कुमार देव र बंगलादेशको विद्युत, उर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव केएम अली रेजाको सहअध्यक्षतामा बसेको संयुक्त कार्यदलको बैठकले गरेका सिफारिसलाई सचिवस्तरिय छलफलबाट सहमति गरिएको छ ।

हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५- नोभेम्बर १५ सम्म बिजुली बिक्री गर्ने गरी नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा सम्झौता भएको थियो । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी सम्झौता भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यातका लागि स्वीकृति दिएको छ ।