भेरी अस्पताल घटनाः सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
काठमाडौं,नेपालगञ्ज - नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि भएकाे कुटपिट घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । उक्त घटनाबारे छानबिन गर्न सहायक प्रजिअ शंकर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको छ ।
उक्त समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेत राखिएको छ । उक्त अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणलाई लिएर चौतर्फी विरोध भइराखेको छ ।
गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेका थिए ।
मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि स्थिति तनाव भएको थियो ।
बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको थियो । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका थिए ।
ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको थियो । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस