काठमाडौं - नेपाल प्रहरीका ३२औं महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी बुधबार रातिदेखि अवकाशमा गएका छन् ।

खापुङलाई छोटो कार्यकालका लागि आईजीपी नियुक्त गरिएको थियो । तत्कालीन सरकारले भदौ १४ गते उनको नियुक्ति गरेको थियो भने भदौ १९ गते पदभार ग्रहण गरेका थिए ।

उनको नेतृत्व कार्यकालको सुरुमा मात्रै देशभरि तनावपूर्ण परिस्थितिहरू देखा परेका थिए । भदौ २३ गते जेनजी आन्दोलन भएपछि देशभरका प्रहरी कार्यालय र संरचनामाथि आक्रमण भएको थियो ।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र प्रहरी प्रधान कार्यालयले उनलाई बिदाइ गरे।

नेपाल प्रहरीको नयाँ नेतृत्वको जिम्मेवारी आईजीपी दानबहादुर कार्कीले सम्हाल्ने भएका छन् । नवनियुक्त आईजीपी कार्कीलाई गृह मन्त्रालयमा आज बिहान १०ः४५ बजे गृहसचिव रामेश्वर दङ्गालले दर्ज्यानी चिह्न (फुली) लगाइदिने कार्यक्रम तय भएको छ ।

त्यसलगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पुगेर उनले पद बहाली गर्नेछन् । मन्त्रिपरिषद्ले सोमबार बसेको बैठकमा कार्कीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।