काठमाडौं - सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ।
भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस भएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनीकुमार पोखरेलको संयोजकत्वमा भएको छानबिनपछि दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो। स्रोतका अनुसार सिफारिसअनुसारको निर्णय प्रक्रियाका लागि गृह मन्त्रालयमा आवश्यक कागजात तयार भइरहेको छ। दाहाललाई बर्खास्त गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।
एआईजी दाहाल गत असोज १९ गते निलम्बनमा परेका थिए। उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका ज्वाइँ नाताका हुन्। असोज ११ गते राणा बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई हिरासतमा भेट्न पुगेका थिए।
दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधि र समयतालिकासम्बन्धी सूचना निगरानी तथा चुहावट गरेको आरोप लागेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचनाहरू फेला परेका थिए।
त्यस्तै, विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन राणाले चलखेल गरेको र त्यसमा दाहालको भूमिका रहेको आशंकासमेत छानबिनका क्रममा उठेको स्रोतको दाबी छ।

.gif)


